चितवन १ पुस । चितवन राष्ट्रिय निकुञ्जले माडीकाे विकासका लागि निकुञ्ज प्रशासन बाधक नभएकाे बताएकाे छ। हरियो वन कार्यक्रमको सहयोगमा सञ्चारिका समूह चितवनले माडीमा आयोजना गरेको वातावरणीय संरक्षण तथा लैङ्गिकता र सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कानुनअनुसार प्रकृया पुर्याएर गरिने कुनै पनि विकासकाे काममा निकुञ्ज प्रशासन वाधक नबन्ने बताएका हुन्। माडीबासीले माडी विकासमा निकुञ्ज बाधक बनेकाे भन्दै बारम्बार आरोप लगाए पनि निकुञ्जले माडीको विकासमा सधैं सघाउ पुर्याउँदै आएकाे उनकाे भनाइ छ। ‘हामीले पनि विधि, विधान र ऐनअनुसार काम गरिरहेका छाैँ,’ उनले भने, ‘निकुञ्जले विकास र संरक्षणलाई समानरूपले हेरेकाे छ।’

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडी विकासको प्रमुख आधार नै पर्यटन भएकोले निकुञ्ज र माडीबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए। तर, निकुञ्ज ऐनका कारण केही व्यावहारिक समस्या हुने गरेकाे उनले बताए। माडीको विकासका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अवसरका रुपमा सदुपयोग गर्न सकिने उनकाे भनाइ छ। सञ्चारिका समूह चितवनकी अध्यक्ष अजिता अधिकारीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संरक्षणमा महिलाकाे सहभागिता, स्राेत बाँडफाँडमा महिलाकाे अवस्था तथा कानुनी साक्षरता विषयमा अधिवक्ता फुलमाया रानाभाटले प्रशिक्षण दिएकी थिइन्।



























