काठमाडौं, मंसिर २८ । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले गएराती करीव ५० किलो चरेशसहित धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षिय दिपक मगरलाई पक्राउ गरेको छ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष्टबाट खटिएको एपीएफ टोलीले सोही जिल्लाको थाके गाउँपालिका १ खयरघारी स्थित पूर्व पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो। बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो।
त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत एपीएफ टोलीले बरामद गरेको छ । उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका निज मगरलाई राती करीव साढे आठ बजे एपीएफ टोलीले फेला पारेको थियो । उनलाई राती नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाईएको छ। उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको कुरा निज मगरले एपीएफ टोली समक्ष बताएका छन्।


























