काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको बैठकले श्रेष्ठको निधनमा मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ।
यस्तै मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने तथा स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने निर्णय भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यता, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको उहाँको सचिवालयले जनाएको छ। हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ।


























