जनकपुर, मंसिर २६ । यसपटकको विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने भएको छ। विश्वमा अझै पनि कोरोना भाइरसको महामारी कायमै रहेकाले यसपालिको विवाह पञ्चमी ठूलो उत्सवविना मनाइने भएको हो। कोरोना संक्रमणको जोखिमका कारण नेपाल–भारत सीमा अझै बन्द रहेकाले अयोध्याबाट जन्ती नआउने सम्भावना रहेको छ।
अघिल्ला वर्षहरुमा १५ दिन अघिदेखि नै रमझम शुरु हुने जनकपुरस्थित जानकी मन्दिरमा यसपालि केही चहलपहल छैन। यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ। मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने बताइएको छ।
हरेक वर्ष भगवान राम र सीताको विवाह भएको स्मरणमा जनकपुरधाममा निकै तामझामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ। यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेका छन्।


























