काठमाडौं, मंसिर २४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको विषयमा राष्ट्रिय खेल संघसंग आज (बुधबार) छलफल गर्दैछ। गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ।
नवौंको विषयमा आवश्यक निर्णय लिन राखेपले राष्ट्रिय संघलाई छलफलमा बोलाएको हो। सातदोबाटोस्थित राखेपको अडिटोरियम हलमा छलफल बिहान ११ बजेपछि सुरु हुनेछ। युवा तथा खेलकुद मन्त्रालयमा मंसिर १७ गते बसेको मन्त्री स्तरीय बैठकले मंसिर २४ गते राष्ट्रिय खेल संघसंग छलफल गर्ने निर्णय गरेको थियो।
मन्त्रालय र राखेपले पूर्व निर्धारित समयमा राष्ट्रिय खेल सञ्चालन गर्न सक्ने(नसक्ने विषयमा खेल संघसंग छलफल गर्नेछ। छलफलमा आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका खेल संघलाई बोलाईएको छ। सरकारले नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो।
स्विमिङ र सुटिङ्ग बाहेक सबै खेलका खेलस्थल तयार रहेको अवस्थामा पूर्वाधारले प्रतियोगिता आयोजनामा असर नगर्ने राखेपको भनाई छ। तर महामारीको रुपमा रहेको कोरोनाका कारण प्रशिक्षणनै नभएको अवस्थामा प्रतियोगिता गर्न कठिन देखिन्छ।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालमा सुरु भएको राष्ट्रिय प्रतियोगिता ७७ सालसम्म आईपुग्दा ८ संस्करण मात्र सम्पन्न भएका छन्। अस्थिर सरकार र व्यवस्था परिवर्तनको मारको परेको राष्ट्रिय खेलकुद नियमित नहुनुमा खेलकुदका असक्षम नेतृत्व समेत जिम्मेवार रहदै आएका छन्।
निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा लगातार दुई राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्दै अनियमित रहने खेलकुद प्रतियोगिताको क्रमभंगता गरेका थिए।


























