मंसिर २४ । बोरुसिया डर्टमण्ड समूहको शीर्ष स्थानमा रहदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार भएको समूह एफको अन्तिम खेलमा सेन्ट पिटर्सवर्गलाई २–१ ले पराजित गर्दै समूह विजेतको रुपमा डर्टमण्ड अन्तिम १६ मा प्रवेश गरेको हो। एक खेल अगावै नकआउट चरण पुगेको डर्टमण्डलाई समूह विजेता बन्न अन्तिम खेल जित्नुपर्ने दबाब थियो।
जर्मन क्लब दोस्रो स्थानको लाजियोसंग तीन अंकको अग्रता सहित समूह विजेता बन्न सफल बनेको हो। सेबेस्टियन ड्रासीले घरेलु टोलीलाई अग्रता दिलाएपनि डर्टमण्डका लागि लुकाज पिस्जेसेक र एक्सल विटसेलले गोल गरेका थिए।
बोरुसिया डर्टमण्डले १६ वर्ष १८ दिनको उमेरमा युसुफ मौकोकोलाई च्याम्पियन्स लिगमा डेब्यु गराएको थियो। बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा उमेरका खेलाडी बनेका छन्।
सोही समूहको अर्को खेलमा दोस्रो स्थानको लाजियोले क्लब ब्रुगिससंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। लाजियो यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको थियो। अन्तिम १६ को ड्र सोमबार सार्वजनीक गरिनेछ। एजेन्सी


























