काठमाडौं, मंसिर २२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका बिषयमा निर्णय गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको छ। राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई बुधबार छलफलमा बोलाएको हो। राखेपले आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका राष्ट्रिय संघलाई छलफलमा बोलाउने तयारी गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयमा गत मंसिर १८ गते बसेको मन्त्री स्तरीय बैठकले नवौंको बिषयमा राष्ट्रिय संघसंग छलफल गरेर निर्णय लिने निष्कर्श निकालेको थियो। राखेपले नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ। तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण निर्धारित समयमै नवौं हुनेमा आशंका छ। राखेप प्रवक्ता समेत रहेका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले नवौंको विषयमा छलफल गर्न राष्ट्रिय संघको बैठक आह्वान गरिएको बताए।
‘नवौंको बिषयमा छलफल गर्न संघहरुलाई मंसिर २४ गते बोलाईएको छ। छलफलका आधारित रहेर नवौंको विषयमा औपचारिक निर्णय हुनेछ।’ उनले भने।
नवौं आयोजनाका लागि गण्डकी प्रदेशमा पूर्वाधारको खासै समस्या नहुने राखेपको तर्क छ। तर कोरोना कहरका बीच प्रतियोगिता आयोजनामा कठिनाई देखिएको छ। अधिकांश खेलका खेलाडीहरु गत चैतबाट सामान्य प्रशिक्षणमा फर्कन पाएका छैनन्। सामान्य प्रशिक्षण समेत सुरु गर्न नसकेका राखेप र खेल संघले राष्ट्रिय प्रतियोगिता गर्न नसक्ने धेरैको तर्क छ।


























