काठमाडौं, मंसिर २० । राजावादीहरूले बृहत प्रदर्शनको तयारी गरेका छन्। कोरोना महामारीकाबीच भिडभाड गर्न खोजिएको भन्दै धर्ना तथा जुलुस रोक्न गृह प्रशासनले सबै प्रशासन कार्यालयललाई निर्देशन दिए पनि शान्तिपूर्ण प्रदर्शनमा भने हस्तक्षेप नगर्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनमा अब निगरानी मात्र बढाउन निर्देशन दिएको सुरक्षा स्रोतले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले काठमाडौँले लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि अहिलेको परिस्थितिमा महामारी झन् फैलने खतरा भएकाले त्यस्ता गतिविधि नगर्न आह्वान गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले प्रदर्शनमा निस्किँदा कोरोना भाइरसलाई मध्यनजर गरेर सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेका छन्।
प्रदर्शन घोषणा गरेको राप्रपाका नेता राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए कठोर आन्दोलन हुने चेतावनी दिएका छन्।


























