हेटौंडा, मंसिर १९ । बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादी शक्तिहरुले वृहत प्रदर्शन गरेका छन्। शुक्रबार दिउँसो गरिएको प्रदर्शनमा राजतन्त्र र हिन्दू राज्यको पक्षमा नाराबाजी गरिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आयोजना गरेको प्रदर्शन पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्याली गर्दै सुरु भएको थियो। प्रदर्शनमा सहभागीहरुले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाएका थिए।
प्रदर्शनकारीले नगर परिक्रमा गर्दै हेटौंडा बजारको सीमा चोकमा पुगेर कोणसभा गरिएको थियो। र्यालीलाई राप्रपाका नेता मधु अधिकारी, राजाराम बर्तौला, जिल्ला अध्यक्ष न्यौपानेले सम्बोधन गरेका थिए। हेटौंडाको प्रदर्शनपछि राप्रपा अध्यक्ष कमल थापाले अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए।
‘हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ,’ अध्यक्ष थापाले भने, ‘कसैलाई भ्रम र द्विविधा नरहोस् राप्रपा बलियो भयो भने मात्र हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना हुन्छ।’


























