काठमाडौं, मंसिर १८ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानी भन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी काम गरिने स्पष्ट पारेका हुन्। कोभिड पछिको परिस्थितिमा लगानी बढाइ रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुने पनि बताए। त्यसैले उद्योग मन्त्रालयले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेगरी नीतिगत व्यवस्था गर्ने उनले बताए।
महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरुमा मजदुरहरुले बन्द हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्ट समक्ष माग गरे। उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भएपनि बन्द हडताल रोक्नुपर्ने माग अध्यक्ष गोल्छाले गरे।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले साना तथा मझौला उद्योगहरुले पुनरकर्जाको सुविधा पाउन नसकेको बताएका छन्। यस्तै पुनरतालिकिकरणमा समेत समस्या देखिएकोले त्यस्ता समस्या समाधानमा मन्त्रालयले पहल गर्नुपर्ने उद्योगीहरुले बताए।


























