विराटनगर, मंसिर १८ । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ। सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको हो।
सेवा शुरु भएकै दिन सात जना महिलाको नमूना सङ्कलन गरिएको छ। साथै एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.जयवेन्द्र यादवले बताएका छन्।
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिको जीवनशैलीका कारण क्यान्सर रोगको बिरामी बढ्दै गएको बताए। साथै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको समेत जानकारी गराए।
जिल्लास्तरबाट सेवा शुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको योजना रहेको समेत बताए। चालु आर्थिक वर्षभित्रै धनकुटा जिल्ला अस्पताललाई १०० शैयासहितको अस्पतालमा स्तरोन्नति गरिने मन्त्री घिमिरेले जानकारी दिए। रासस


























