काठमाडौं, मंसिर १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने भएका छन्। बैठक सुरु भएपनि उनी अरु नेता भन्दा केही ढिलागरी बैठकमा सहभागी हुने बताइएको छ।
यसअघि बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि भने बैठकमा सहभागी हुने भएका हुन्। उनी बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक केहीबेर पर सारिएको थियो। बैठकअघि ओली र प्रचण्ड दुबै पक्षको रणनीतिक छलफल भएको थियो भने सोहीअनुसार उनीहरु सचिवालयमा प्रस्तुत हुनेछन्।
बालुवाटारको रणनीतिक बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतको सहभागिता रहेको थियो भने सो छलफलमा पनि ओलीले प्रचण्डको प्रस्तावको आलोचना गर्दै त्यसको खारेजी हुनैपर्ने बताएका थिए।
यस्तै कार्यकारी अध्यक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पनि खुमलटारमा बसेको थियो। बुधबार बिहान बसेको सो बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेको बताइएको छ।


























