चितवन, मंसिर १५ । वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि भरतपुर महानगरपालिका–११ मा करीब १३ धुर जमीन उपलब्ध गराएकाछन्। नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज भवनको शिलान्यास गर्दै समाजसेवी मैयाँदेवीले काँग्रेसको केन्द्रीय कार्यालयदेखि जिल्ला र वडासम्मलाई जग्गा उपलब्ध गराएर सहयोग गर्नुभएको बताए।
काँग्रेस भरतपुर–११ ले निर्माण गर्न लागेको भवनका लागि पार्टीले आवश्यक सहयोग गर्ने जानकारी उनले दिए। पार्टी वडा समितिका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन रु एक करोडको लागतमा अत्याधुनिक तीन तलाको हुनेछ।
भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कँडेलको संयोजकत्वमा आर्थिक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ। सोही भवनको नजिक तीन वर्षअघि समाजसेवी मैयाँदेवीले नै उपलब्ध गराउनुभएको जमिनमा नेपाल प्रेस युनियनले ‘मैयाँदेवी सूचना केन्द्र ’ निर्माण गरेको छ। रासस


























