म्याग्दी, मंसिर १४ । जिल्लाको मंगला गाउँपालिका– २, बाबियाचौरको ताराखेतमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बाबियाचौर लाम्पाताबाट सल्यानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो। ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको हो।
मृतक केसी चालक खुमबहादुर कटुवालकी छोरी हुन्। दुर्घटनामा घाईते हुनेमा राजन केसी, सुकला केसी, सनिता क्षेत्री कृपा क्षेत्री रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा बेनी तर्फ ल्याइएको छ। घटनास्थलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको छ।
चालक कटुवालले आफ्नै परिवारका पाँच सदस्य सहित एक छिमेकीलाई लिएर घरतर्फ जादै गरेको अवस्थामा काफचौरको माथिल्लो घुम्तीबाट बोलेरो खसेको थियो। चालक कटुवालले तीन महिना अगाडी मात्रै बोलेरो किनेका थिए। घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ।


























