मंसिर १२ । घरेलु टिम न्युजिल्याण्डले पहिलो टी-ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजलाई पराजित गरेको छ। अकल्याण्डमा शुक्रबार वर्षाले प्रभावित गरेको पहिलो खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित गरेको हो।
वेस्ट इन्डिजले दिएको १ सय ८१ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो। न्युजिल्याण्डका लागि जेम्स निशमले अविजित ४८ रन जोड्दा डेभोन कोन्वेले ४० रन बनाए। यस्तै मिचेल स्टानरले अविजित ३१ रन जोड्दा ग्लेन फिलिप्सले २२ रन जोडे। वेस्ट इन्डिजका ओशाने थोमसले २ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। वर्षाको कारण १६ ओभरमा झारिएको खेलमा वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै आन्द्रे फ्लेट्चरले ३४ रन जोड्दा फाबियन एलनले ३० रन बनाए। ब्राण्डन किङ्ले १३ रन बनाए। न्युजिल्याण्डका लागि लक्की फेर्गुसनले ५ विकेट लिए। टिम साउथीले २ विकेट लिए।
जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ। टी-ट्वान्टी सिरिजपछि दुई टिमले २ खेलको टेस्ट सिरिज खेल्नेछ। एजेन्सी


























