काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै पनि सरोकार नभएको बताएका छन्।
केही दिन अघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटघाटलाई लिएर टिकाटिप्पणी भइरहेका बेला नेता सिटौलाले त्यस्तो बताएका हुन्। ओली र देउवाबीचको भेटघाटमा सत्ता साझेदार भएर जाने भन्ने सम्मका हल्ला बाहिरिएका थिए।
बुधवार सामाजिक सञ्जालमा लेख्दै नेता सिटौलाले नेकपा र सरकारको आन्तरिक कहलमा कांग्रेसको कुनै सरोकार नरहेको स्पष्ट पारेका हुन्। साथै आन्तरिक विवादका कारण फुटको अवस्थामा पुगेको नेकपा फुट्ने सत्ता साझेदार हुँदै कांग्रेस सरकारमा जाने भन्ने कुराको भ्रममा पर्न नहुने समेत बताएका छन्।
“नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन। नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामि पर्न हुन्न।” उनले भने।
साथै संसदको प्रमुख प्रतिपक्षीको हैसियतले कांग्रेसले सरकारविरुद्ध नकारात्मक कदमबारे आवाज उठाउने र जनताको आजाव उठाउन सडकमा जाने बताएका छन्।


























