काठमाडौं, मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन्। सोमबार संघीय संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले कोरोना भाइरसको महामारीका बेला विभिन्न विकल्पसहित संसद चलाउन तयारी अवस्थामा रहेको बताए।
सभामुख सापकोटाले भने, ‘सकेसम्म चाँडो संसद अघिवेशन राख्नका लागि छलफल हुँदैछ। संसद सञ्चालनका लागि धेरै विकल्पहरुसहित एक, दुई, तीन गरेर तयारी गरिएको छ।’
सभामुख सापकोटाले हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुने बताए।
सञ्चाकर्मीको प्रश्नको जवाफ दिने क्रममा सभामुख सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि सरकारसँग समेत छलफल भइरहेको बताए । ‘हामी तयारी अवस्थामा छौं, सरकारसँग पनि कुरा चलिरहेको छ,’ सभामुख सापकोटाले भने।
चालू आर्थिक वर्षको बजेट पारित गरेपछि संसदको वर्षे (बजेट अधिवेशन) अन्त्य भएको थियो। सरकार (मन्त्रिपरिषद) को सिफारिसमा राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।