काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ थियो।
पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९९ हजार २४ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३२५ रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ।


























