काठमाडौं, मंसिर ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ थियो।
पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको छ।


























