काठमाडौं, मंसिर ६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेका बताएका छन्।
स्वास्थ्य मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा उनले जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्ने बताए। चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रकोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताए।
त्यस्तै उनले कोरोनाको उपचारका लागि खोप कहिले आउने भन्ने यकिन भइनसकेको अवस्थामा कोरोना रोक्न सवैले सचेतना अपनाउनुपर्ने उल्लेख गरे। तिमिल्सिनाले राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार गर्नका लागि राजनीतिक दलहरुले कोरोना नियन्त्रणका लागि भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा परिचालन गरि सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिए।
त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घर घरमा स्वास्थ्य सेवा पुराउनका लागि सरकार प्रतिवद्ध रहेको बताए। कोरोना उपचारका लागि आवश्यक अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने लगाएतका काममा सरकार लागिपरेको उनले बताए। मन्त्री ढकालले कोरोन संक्रमण रोकथामका लागि सरकारले हरसम्भव प्रयास गरेको दावी पनि गरे।


























