नेपालगन्ज, मंसिर ६ । छैटौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनमा त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै गोपीले उपाधि जितेका हुन्।
उपाधि जित्ने क्रममा गोपीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे। दोस्रो भएका कृष्णले २ घण्टा २० मिनेट ४९ सेकेन्डको समय निकाले।आर्मीकै खगेन्द्र भाट २ घण्टा २७ मिनेट २८ सेकेन्डको समय निकाल्दै तेस्रो भए। आर्मीकै नवराज साउद चौथो, ज्ञानप्रसाद भट्टराई र मुकेश बहादुर पाल छैटौं भए। उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका लागि छनोट भएका छन्।
कोरोना भाईरसको महामारीको कारण अन्य प्रतियोगिता नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनको विजेताले ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो।
गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन्। सागमा गोपीले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए। पुरुषतर्फको विजेता बनेका गोपीले ७५ हजार नगद समेत प्राप्त गरे। यस्तै दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गरे। त्यसबाहेक चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे।
महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन्। निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन्। कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डको समय निकाल्दै दोस्रो भईन्। १ घण्टा ३८ मिनेट १४ सेकेन्डको समय सहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन्। यस्तै शकुन्तला ठगुन्ना चौंथो अनिशा चौधरी पाँचौ र कल्पना चौधरी छैटौं भए।
महिला हाफ म्याराथनतर्फको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै चौथोले ७, पाँचौंले ६ र छैटौंले ५ हजार रुपैयाँ प्राप्त गरे।


























