मंसिर ६ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
मोनाकोविरुद्ध २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी पराजित भएको हो। खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० अग्रता दिलाए।
४४ औं मिनेटमा एमबाप्पेले तेस्रो गोल गरेका थिए। तर, भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई गोलको मान्यता दिएन। दोस्रो हाफमा मोनाकोले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ५२ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै मोनाकोलाई २-१ को स्थितिमा ल्याए। ६५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरी बनाए।
खेलको ८४ औं मिनेटमा पीएसजीका डियालोले रातो कार्ड पाउदै मैदानबाट बाहिरिए। उनले मोनाकोका केभिनलाई आफ्नो डिबक्स भित्र फउल गरेका थिए। जसमा मोनाकोले पेनाल्टी समेत पायो। उक्त पेनाल्टीमा सेस फेब्रिगासले गोल गर्दै मोनाकोलाई ३-२ को जित दिलाए।
जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ। मोनाकोले ११ खेलमा २० अंक जोड्यो। पीएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। अर्को खेलमा रेनस बोर्डुअक्ससँग १-० ले पराजित भएको छ। एजेन्सी


























