काठमाडौं, मंसिर ५ । नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ। विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको सदस्यता दिएको हो।
नेपाल रग्बी संघले बिहीबार एक विज्ञप्ति निकाल्दै संघले विश्व रग्बीको सदस्यता प्राप्त गरेको जनाएको छ। संघले सदस्यता प्राप्त गर्नुलाई संघको महत्वपूर्ण उपलब्धि भएको समेत जनाएको छ। एसिया रग्बीको सिफारिसमा नेपाललाई एसोसियट राष्ट्रको मान्यता दिएको हो। गत भदौमा एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको थियो।
नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको थियो। नेपालले दुई वर्ष अगाडि मात्र एसिया रग्बीको पूर्ण सदस्यता पाएको थियो।
नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो। त्यस समयबाट ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरी सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजना पश्चात एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको हो।
जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो। त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो। उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाईमा रहेको कालापत्थरसम्म पुर्याएको थियो। पहिलो पटक रग्बीको ट्रफी विश्वको सबैभन्दा ठूलो उचाईमा पुर्याउन सफल भएको थियो।


























