काठमाडौं, मंसिर २ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन्।
बुधबार (भोलि) का लागि सचिवालयका बहुमत सदस्यहरुले बोलाएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन्।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट बढाएका छन्। बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई भेटेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटिसकेका छन्। पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ। दुई अध्यक्ष तथा नेताहरु पक्षरविपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन्।


























