काठमाडौं, मंसिर २ । नेकपाको आगामी सचिवालय बैठक अनिश्चित हुने देखिएको छ। बुधवारका लागि तय भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेता सहभागी नहुने संकेत पाएपछि बैठक बस्ने/नबस्ने टुङ्गो नभएको स्रोतले बताएको छ।
पार्टीभित्र उत्पन्न संकट समाधान गर्न पार्टी कमिटीको बैठक आवश्यक हुने भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष बैठक नबस्ने रणनितीमा रहेको प्रचण्ड पक्षको आरोप छ। ओली पक्षले बैठकलाई महत्व नदिएको र प्रधानमन्त्री स्वयं पनि बैठक कसरी छल्ने भन्नेमा मात्रै केन्द्रित रहेको उनीहरुको भनाई छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा समेत ओली पक्ष अनुपस्थित रहेको थियो। सो बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए। धुम्बाराही बैठकलाई ओली पक्षले ‘प्रचण्ड–नेपालको गुटको भेला’ भन्दै अपमान गरेपछि प्रचण्डसमेत पाँचैजना नेता बालुवाटार पुगेर ४८ घण्टाभित्र पार्टी बैठक बोलाउन लिखित अनुरोध गरेका थिए।
प्रचण्ड–नेपाल पक्षको लिखित प्रस्तावलाई तोक लगाउँदै ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन भनेका थिए। सोही आधारमा गत शनिबार ४० मिनेट बैठक बसेर नेताहरु निस्केका थिए। शनिवारको बैठकपछि ओलीले अबको बैठकमा आफुमाथि थप संकट आउन सक्ने भन्दै बैठक छल्ने उपायको खोजी गरिरहेको प्रचण्ड पक्षको दाबी छ। यद्यपि ओली पक्षले यसबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन।
तर, शनिबारको ४० मिनेट आफुमाथि प्रहार भएको भन्दै प्रधानमन्त्री ओलीले नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई छुट्टाछुट्टै भेट गरी कार्यकारी अध्यक्ष प्रचण्डको साथ छाडेर आफुलाई सघाउन आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपाल र गौतम दुवैले अस्वीकार गरिसकेका छन्।
प्रधानमन्त्रीले उपप्रधानसहित रोजेको मन्त्रालय लिएर संसदीय दलमा आफुलाई सघाउन गरेको आग्रहलाई गौतमले पार्टी कमिटीमा निर्णय नभएको कुरामा आफुले साथ दिन नसक्ने जवाफ फर्काएका थिए। गौतमको जवाफपछि प्रधानमन्त्रीले पूर्व माओवादीका प्रचण्ड बिरोधी धारमा रहेका केही नेतालाई सम्पर्क गरिरहेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले पार्टी कमिटीमा अल्पमत भएपनि संघिय संसदमा बहुमत जुटाउने प्रयास जारी राखेका छन्। नेकपा संसदीय दलमा ओली पक्षको बहुमतको लागि कम्तीमा ८ सांसद चाहिन्छ। जसको लागि बामदेवको साथ पाए लगभग पुग्ने ओलीको अनुमान छ।


























