कार्तिक ३० । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ। समूह चरण अन्तर्गत शनिबार राति भएको भएको खेलमा फ्रान्ससँग १-० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा सकिएको हो। पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरे।
उनले खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए। उनले एड्रीयनको पासलाई सदुपयोग गरे। पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ। लिग ‘ए’ समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोडेको छ। र, फ्रान्स समूहको शीर्ष स्थानमा रहेको छ।
दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ। अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ। यस समूहमा क्रोएसिया र स्विडेनको समान ३-३ अंक रहेको छ। शनिबार राति भएको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो। एजेन्सी


























