कार्तिक २८ । अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा सहभागिता जनाउने सबै २४ टिमको टुंगो लागेको छ। बिहीबार राति भएको छनोटको प्लेअफबाट ४ टिमले युरोकपमा स्थान बनाएसँगै २४ टिमको टुंगो लागेको हो।
युरोकपमा छनोट हुने अन्तिम चार टिममा स्कटल्याण्ड, स्लोभाकिया, हंगेरी र नर्थ म्यासेडोनिया रह्यो। कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको युरोकप २०२१ को जुन ११ बाट जुलाई ११ सम्म हुनेछ।
युरोकप युरोपको विभिन्न देशको १२ शहरमा आयोजना हुनेछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस अघि युरोकप सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने तय थियो। तर, कोरोनाले युरोपको अधिकांस राष्ट्रमा महामारीको रुप लिएपछि प्रतियोगिता सारिएको हो।
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डुब्लीन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ। युरोकपको उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन्। जुन ११ मा हुने उद्घाटन खेल इटालीको रोममा हुनेछ।


























