मम्बई, कार्तिक २५ । अभिनेत्री सोनम कपुरको बलिउड यात्रा आजबाट १३ वर्ष पुगेको छ। बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल उनले कयौं हिट फिल्म समेत दिएकी छन्। सन् २००७ अर्थात १३ वर्ष अगाडि उनले फिल्म ‘सांवरिया’बाट बलिउड डेब्यु गरेकी थिइन्। बलिउड प्रवेशको १३ वर्ष पुगेको उपलक्ष्यमा उनले तस्बिर शेयर गर्दै बलिउड यात्राको सम्झना समेत गरेकी छन्।
फिल्म ‘सांवरिया’ संजय लिला भंसालीले निर्माण गरेका थिए। फिल्मले बक्अफिसमा खासै चमत्कार गर्न भने सकेन। यो रणबीर कपुरको पनि डेब्यु फिल्म रहेको थियो। सोनामले इस्टाग्राममा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘१३ वर्ष पहिले मैले ‘सांवरिया’ बाट डेब्यु गरेको थिए। यस उद्योगबाट मलाई हरेक पल आर्शिवाद मिल्यो। भारतको धन्यवाद। हरेक फिल्म निर्मातालाई धन्यवाद भन्छु। जसले मलाई विश्वास गर्नुभयो। मलाई सबैभन्दा राम्रो काम गर्ने मौका मिलेको छ।’
सोनमले सबै फिल्मको भिडियो समेत तस्बिरका साथ शेयर गरेकी छन्। जसमा फिल्मको थोरै–थोरै दृश्य समेटिएको छ। सोनम पछिल्लो समय फिल्म ‘द जोया फैक्टर’ मा देखिएकी थिइन्। उनले नयाँ प्राजेट भने घोषणा गरेकी छैनन्। उनी अहिले पति आनन्द आहूजाका साथ लन्डनमा रहेकी छन्। एजेन्सी


























