कार्तिक २३ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिएका छन्। उनले ट्रम्पका नीतिहरु उल्ट्याउँदै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी थालेका छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनको जीत भएपछि उनले कार्यकारी आदेशहरू जारी गर्ने तयारी थालेका हुन्। आगामी जनवरी २० मा उनले ह्वाइट हाउसमा राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन्।
वासिङ्टन पोस्टको रिपोर्टअनुसार बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी थालेका छन्। बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित भएसँगै कार्यकारी आदेशहरूको तयारी थालेका थिए।
अमेरिकाबाट प्रकाशित वासिङ्टन पोस्टका अनुसार अमेरिकाले पर्यावरणसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने निणर्ण गर्नेछ। यसअघि बुधबार मात्र ट्रम्पको नीतिअनुसार अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो।
साथै विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि बाइडेनले उल्ट्याउने बताइएको छ। चुनावी अभियानका क्रममा बाइडेनले यी सबै कामहरु पहिलो कार्यालय दिनमै गर्ने बताएका थिए। बाइडेनले कैयौं मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको वासिङ्टन पोस्टले जनाएको छ।


























