काठमाडौं, कार्तिक २३ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थाल्ने भएको छ। गत बिहीबार ढाका पुगेको नेपाली टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गर्न लागिएको हो।
नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले आजबाट नेपाली टिमले प्रशिक्षण सुरु गर्ने जानकारी दिए। उनका अनुसार नेपालले स्थानिय समय अनुसार साढे १० बजेबाट प्रशिक्षण सुरु गर्नेछ। नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन्। यस अघि नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन । नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो।
तर, शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो। अब नेपाली टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेल अघि पुनस् एक पटक कोरोना परिक्षण गर्ने छन्। नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ। मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण समेत हुने बताईएको छ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन। २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो। विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ।


























