काठमाडौं, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सचिवालय बैठकका लागि आग्रह गर्ने भएका छन्। सचिवालयका ५ सदस्यहरुले आज ओलीलाई भेटेर सचिवालय बैठकका लागि आग्रह गर्ने भएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो।
शुक्रबारको बैठकमा प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी थिए। प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीलाई सामूहिक रुपमा भेटेर पार्टी संकट समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन, सहमतिको आधारमा बैठक गर्न, अहिलेसम्मका कामहरुको समीक्षा, पार्टी निर्णय कार्यान्वयन गर्न र एकताबद्ध बनाएर अगाडि बढ्नका निम्ति आवश्यक कदम चाल्न छिटोभन्दा छिटो बैठक गर्न अनुरोध गर्ने बताए।


























