कार्तिक २२ । साउथह्याम्पटन इंग्लिसप्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ। शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो। घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक एक गोल गरे।
खेलको सातौं मिनेटमा चेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ८२औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथह्याम्पटनलाई सहज जित दिलाए।जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो। साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो। न्युकासल ८ खेलमा ११ अंक जोडेर ११औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























