काठमाडौं, कार्तिक २२ । विश्भर ३ करोड ५२ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ५७४ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५२ लाख ५१ हजार ७२७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित संख्यामा दैनिक बृद्धि हुँदै गएको छ।पछिल्लो २४ घण्टा ६ लाख २३ हजार २६६ जनामा संक्रमण भएको छ। यसमध्ये ३ लाख १७ हजार ३९२ जना संक्रमित युरोपका मात्रै छन्।
नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार नाघेको छ । अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ८२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ४८ हजार ५६६ पुगेको छ।
उपचार गराइरहेका १ करोड ३१ लाख ५५ हजार १६१ मध्ये ९० हजार ८०८ जनाको अवस्था गम्भीर छ। युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ३७१ जनाको मृत्यु भएको छ। योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २९८ पुगेको छ।
नेपालमा निको हुने दर ८१ प्रतिशत
नेपालमा पछिल्ला केही दिनयता संक्रमणमा भइरहेको बृद्धिभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा निको हुने दर ८१ प्रतिशत पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका भन्दा १ हजार ५८९ बढी अर्थात ४ हजार ५०० जना निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ। शुक्रबारसम्म नेपालमा कोरोना पुष्टि हुनेको संख्या १ लाख ८८ हजार ८८३ छ भने मृतक संख्या १ हजार ७० पुगेको छ।


























