कार्तिक १८ । पाहुना टिम जिम्बावेले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको छ। रावलपिन्डीमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७८ रन बनायो।
जिम्बावेका लागि सिन विलियम्सले अविजित रहदै १ सय १८ रनको शतकीय इनिङ्स खेले। विलियम्सको यो चौंथो एकदिवसीय शतक हो। यस्तै ब्रेन्डन टेलरले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। शिकन्दर राजाले ४५ रन जोड्दा वेस्ली माधिभेरेले ३३ रन बनाए।
पाकिस्तानका मोहमद हस्नैन एक्लैले ५ विकेट लिए। वाहब रियाजले १ विकेट लिए। आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको ३ खेलको सिरिज पाकिस्तानले २-० ले जितिसकेको छ।
तेस्रो खेल जित्दै पाकिस्तान सिरिज क्लिन स्विप गर्न चाहन्छ। जिम्बावे भने अन्तिम खेल जित्दै सान्त्वना जित निकाल्न चाहन्छ। एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ। एजेन्सी


























