काठमाडाैं, कात्तिक १८ । काठमाडाैँ महानगरपालिकाले खुला मञ्चमा भाेकाहरुलाई खाना खुवाउने कार्यक्रम बन्द गर्न निर्देशन दिएपछि चाैतर्फी आलाेचना शुरु भएकाे छ। काेराेना कहरका कारण भाेकमरीमा परेका विपन्न परिवारलाई पराेपकारी संघसंस्ठाले निःशुल्क खाना खुवाउँदै आएकाेमा काठमाडाैं महानगरपालिकाले स्थानीय सरकारकाे व्यइज्जत भएकाे भन्दै साेमबार उर्दी जारी गर्दै खुला मञ्चमा खाना नखुवाउन निर्देशन दिएकाे थियाे। यही विषयलाई लिएर साझा पार्टीले मंगलबार विज्ञप्तिमार्फत काठमाडाैं महानगरपालिकालाई ठाडाे चुनाैती दिएकाे छ।
‘केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ,’ पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’
सरकारको उक्त कदमविरुद्ध भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने साझा पार्टीले जनाएकाे छ। ‘शान्तिपूर्णरूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,’विज्ञप्तिमा भनिएकाे छ, ‘साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तररूपमा अतुलनीय शुभकार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो।’
सरकारले जे जे भने पनि नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्चलगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न साझा पार्टीले अपिलसमेत गरेकाे छ। सरकारले विपन्न जनतामाथि अन्यायपूर्ण काम गरेकाे भन्दै साझाले तुरुन्त आफ्नो निर्णय फिर्ता लिन पनि माग गरेकाे छ। ‘कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्,’ प्रवक्ता पाठकले भने।


























