कार्तिक १७ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो। दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। शेख जायद क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम जितको खोजीमा हुनेछ। किनकि प्ले अफमा पुग्न दुबै टिमका लागि यस खेल महत्वपूर्ण रहेको छ। लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित्नै पर्ने हुन्छ। त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली १३ खेलमा १४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ। समान खेलमा समान अंक जोडेपनि विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर दोस्रो स्थानमा रहेको छ।
यस खेलको विजेताले प्ले अफमा स्थान बनाउने छन्। तर, पराजित हुने टिमको प्ले अफ यात्रा लिग चरणको अन्तिम खेलले मात्र तय गर्नेछ। लिग चरणको अन्तिम खेलमा प्ले अफ पुगिसकेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ।
अन्तिम खेलमा मुम्बईले जित निकालेमा दिल्ली र बैंगलोरबीचको खेलमा पराजित हुने टिम समेत प्ले अफ पुग्नेछ। हैदराबाद विजयी भएमा नेट रेन रेटको आधारमा शीर्ष चारमा पुग्ने टोलीको टुंगो लाग्नेछ।
यसै सिजन दुई बीचको पहिलो भेटमा दिल्लीले बाजी मारेको थियो। दुबईमा दिल्लीले ५९ रनको जित निकालेको थियो। दिल्ली त्यहिँ जितलाई कायम राख्ने योजनामा समेत हुनेछ। बैंगलोर भने अघिल्लो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ।
तर, लिग चरणको अन्तिम खेलमा समेत सन्दीपले मौका पाउने सम्भावना कम रहेको छ। यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई यस अघिको १३ खेलमा बेञ्चमा राखेको थियो। एजेन्सी


























