काठमाडौं, कार्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका छन्।
आफू २८ वर्षयता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले पुजारी बनेर पूजा गर्न पनि उमेदवारी घोषणा गरेको प्रधानले बताए। सोमबार काठमाडौंमा आयोजित मनोनयन दर्ता कार्यक्रममा सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे। उनले देशको अर्थतन्त्र जोगाउन पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए। आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकाले उनको कार्यकाल सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडि आउने प्रधानले विश्वास व्यक्त गरे।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेदवारी घोषणा गरेका छन्। प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ छ। महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ। गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो। प्रधान समूहले आजै महासंघमा आफ्नो मनोनयन दर्ता गराएको छ।


























