काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहका नेताहरुले आज वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्ने भएका छन्। यसअघि शनिबार केन्द्रीय सदस्य प्रदीप नेपाललाई भेटेका नेताहरुले आज माधवकुमार नेपाललाई उनको निवासमै गएर भेट गर्न लागेका हुन्।
ओली समूहका नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापालगायतले शनिबार नेता प्रदीप नेपाललाई उनकै निवास गोठाटारमा भेटेका थिए। उनीहरुले नेपाललाई पूर्वएमाले एक बनाउन आग्रह गरेका थिए। एमाले नेताहरुलाई एक ठाउँमा उभ्याउन सक्रिय रुपमा लाग्न उनीहरुको आग्रह थियो।
ओली पक्षका नेताहरुसँगको भेटलगत्तै माधवकुमार नेपालले आजै प्रदीप नेपाललाई भेट्ने जनाइएको छ। वरिष्ठ नेता नेपालले आफूलाई बाटो पर्दा नियमितजसो भेट्न आउने गरेको प्रदीप नेपालले बताए। ‘म बस्ने गरेको क्षेत्र उहाँ (माधव नेपाल) को निर्वाचन क्षेत्र पनि भएकाले बाटो पर्दा नियमितजसो आउनुहुन्छ,’ प्रदीप नेपालले भने, ‘आज पनि आउँछु है भन्नु भएको छ। सायद आउनुहुन्छ होला, अरु त्यस्तो राजनीतिक होइन। सामान्य भेटघाट हो।’
वरिष्ठ नेता माधव नेपाल सचिवालय स्रोतले प्रदीप नेपालसंग भेट्ने कुनै कार्यतालिका नभएको बताएको छ। प्रदीप नेपाललाई भेटे पनि राजनीतिक रुपमा कुनै अर्थ नहुने सचिवालय स्रोतको भनाइ छ।

























