कार्तिक १७ । राजस्थान रोयल्स १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ। दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए। राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए। श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए।
राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए। वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै राहुल त्रिपाठीले ३९ रन जोड्दा सुबमन गिलले ३६ रन बनाए। आन्द्रे रसेलले २५ रन बनाउँदा पाट कुमिन्सले १५ रन बनाए। राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए। कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १र१ विकेट लिए। जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ। र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ।
कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ। तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ। अब मंगलबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई पराजित गरेमा कोलकाता प्ले अफ पुग्नेछ। हैदराबादले जितेमा नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ। यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले समेत प्ले अफको समीकरणमा महत्व राख्नेछ।


























