कार्तिक १५ । खुट्टामा चोट लागेर घाइते भएका ब्राजिलियन स्टार नेयमारलाई फिट हुन केही समय लाग्ने भएको छ। च्याम्पियन्स लिग फुटबलको बुधबार भएको इस्लानबुल बासाकेशिरसँगको खेलमा चोट बोक्दै मैदान बाहिरिएका नेयमार कम्तीमा नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन्।
२८ वर्षीय नेयरमारको ‘ग्रोइन’मा चोट लागेको र फिट हुन समय लाग्ने चिकित्सकहरूले बताएका छन्। ‘हामी निराश छौँ’ प्रशिक्षक थोमस टुचेलले भने, ‘उनी अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किनेछन्। मलाई लाग्दैन, उनी ब्राजिलका लागि खेल्न सक्नेछन्। हामीसंग जुन जानकारी छ, उनी ब्रेकपछि फर्कनेछन्।’
अन्तराष्ट्रिय ब्रेक अघि पीएसजीले तीन म्याच खेल्नेछ। लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ। यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ।
नेयमार सन् २०१७ मा कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए। प्रशिक्षक टुचेलले लिग वानको नोभेम्बर २० मा हुने मोनाकाविरुद्धको खेलमा नेयमार फर्कन सक्ने अपेक्षा गरेका छन्। एजेन्सी


























