काठमाडौं, कार्तिक १४ । पेशाकर्मीहरुको मूख्य सामाजिक सञ्जाल लिंकडिनले कामको खोजीमा रहेका व्यक्तिहरुका लागि सहज हुने नयाँ फिचर क्यारियर एक्सप्लोरर सार्वजनिक गरेको छ। यो टुलको सहयोगमा रोजगारी खोज्न सहज हुनेछ। लिंकडिनले करियर एक्सप्लोररसँगै हायरिङ प्रोफाइल फोटो फ्रेम समेत ल्याएको छ। यो फ्रेमको सहयोगमा आवश्यक व्यक्तिहरु खोज्न सहज हुनेछ।
कसरी काम गर्छ करियर एक्सप्लोरर ?
यसको नामबाटै स्पष्ट छ, एक्सप्लोरर अर्थात विस्तार। यसबाट तपाईंले विद्यमान पेशा बाहेकका अन्य पेशाको रोजगारी समेत खोज्न सक्नुहुनेछ। यो फिचरको सहयोगमा तपाईंलाई नयाँ रोजगारीका लागि सुझाव प्राप्त हुनेछ। साथै वैकल्पिक रोजगारीको बारेमा पनि जानकारी मिल्नेछ।
उदाहरणको रुपमा भन्दा एक्सप्लोरर टूलले तपाईंलाई अकाउन्ट म्यानेजरका साथै फाइनाइन्स अफिसर समेत बन्न सक्नुहुनेछ। कम्पनीका अनुसार कोरोनाका कारण यात्रा, रिटेल तथा कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरु अर्को क्षेत्रमा रोजगारी खोजिरहेका छन्।
लिंकडिनको करियर एक्सप्लोरर टूलको बेटा भर्सन विश्वव्यापी रुपमा रहेका प्रयोगकर्ताका लागि सार्वजनिक हुँदैछ। जुन हाललाई अंग्रेजीमा रहेको छ। आउँदो समयमा यसमा अन्य धेरै अपडेट तथा परिवर्तनको समेत आशा गरिएको छ।
हायरिङ फ्रेम
यदि कसैलाई कर्मचारीको आवश्यकता छ भने उसले हायरिङ फ्रेमलाई आफ्नो प्रोफाइलमा राख्न सक्नेछ। यसबाट प्रयोगकर्तालाई प्रोफाइल हेरेकै भरमा कुनै कम्पनीमा रोजगारीको अवसर रहेको बारेमा थाहा हुनेछ।
हायरिङ फ्रेममा #Hiring देखिनेछ। लिंकडिनका अनुसार तपाईंको प्रफाइलमा कम से कम पाँच वटा सीप छन् भने तपाईंलाई रोजगारी प्राप्त हुने संभावना २७ गुणा बढी हुन्छ। कम्पनीले हालै मात्र एक सय वटा नयाँ सीपलाई जोडेको छ।


























