कार्तिक १४ । इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ। समूह ‘एच’ मा रहेको मिलानले बिहीबार राति स्पार्टा प्राग्वेलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। घरेलु मैदानमा ब्राहिम डियाजले २४ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए।
खेलको ३६ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले पेनाल्टीमा गोल गर्न नसक्दा मिलान अग्रता दोब्बर बनाउनबाट चुक्यो। इब्राहिमोविचको पेनाल्टी प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो। तर, ५७ औं मिनेटमा राफेल लिओले गोल गर्दै मिलानलाई २-० अग्रता दिलाए।
त्यसपछि खेलको ६७ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए। जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ। मिलान तालिकाको शीर्ष स्थानमा रहेको छ। मिलानले पहिलो खेलमा सेल्टिकलाई ३-१ ले हराएको थियो।
यसै समूहको अर्को खेलमा सेल्टिक र लिलले २-२ गोलको बराबरी खेलेका छन्। अर्को इटालियन क्लब नापोलीले स्पेनिस क्लब रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ। रोमा भने सीएसकेए सोफियासँग गोलरहित बराबरीमा रोकिएको छ। एजेन्सी


























