कार्तिक १४ । साविक विजेता मुम्बई इन्डियन्स यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ। दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो। कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो। तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो। मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ। अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ।
चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो। अब तीन टिमले प्ले अफमा स्थान बनाउने छन्। जसका लागि ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन्। दुबै टिम प्ले अफको मुख्य दाबेदार टिम हुन्।
यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौको कोलकाताको समेत सम्भावना रहेको छ। पन्जाब र कोलकाताले १२ खेलमा समान १२/१२ अंक जोडेका छ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ सम्भावना रहेको छ। दुबैले १०/१० अंक जोडेका छन्। चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ। एजेन्सी

























