– मोनिक पौडेल
केमिकल क्षेत्रमा क्रान्ति भएसँगै कृषिमा पनि यसको प्रयोग दिनहुँ बढ्दै गएकाे छ। खाद्यान्न रोप्नुदेखि खानाको लागि प्रयोग गर्दासम्म केमिकलको प्रयोग हुने गर्दछ। आज सानो आकारमा भएको लौका भोलि ठूलो बनाउन मान्छेहरुले सुई घाेच्नेसम्म गर्दछन्। विषादी र औषधिको अत्याधिक प्रयोगका कारण हामीले खाने तरकारी र फलफूलमा पोषक तत्वभन्दा बढी केमिकल तत्व हुने गर्दछ। यी खानेकुराले मान्छेकाे स्वास्थ्य दिनप्रतिदिन बिगार्दै गइरहेको छ। यसकाे न्यूनीकरण नै अहिलेको आवश्यकता हो। यो आवश्यकताको पूर्ति प्राङ्गारिक खेतीले नै गर्छ।
प्राङ्गारिक खेतीलाई हामीले दिगो उत्पादन गर्ने एउटा अब्बल तरिकाको रूपमा बुझ्न सक्छौं। यो खेतीले माटो, पारिस्थितिक पद्धति र मानव जातीको स्वास्थ्यको दिगोरुपमा रक्षा गर्छ। यो खेती स्थानीय पारिस्थितिकीय प्रकिया, जैवविविधता र चक्रहरुमा भर पर्दछ। यो खेतीले परम्परा, नवीनता र विज्ञानको मिश्रण गरेर वातावरणको अनुकुल र मानव जातीको गुणात्मक जीवनशैलीको लागि काम गर्दछ।
प्राङ्गारिक खेतीमा कुनै पनि सिंथेटिक मल र विषादीको प्रयोग हुन्न। यो खेतीमा आनुवंशिकरुपमा परिमार्जित जीवको प्रयोग निषेध गरिएको छ। हामीले यस खेतीमा गोडमेल हातको प्रयोगबाट गर्छौ। यो खेतीमा किराहरुको नियन्त्रण जैविक माध्यमबाट हुने गर्दछ। हामीले यो खेतीमा वातावरण प्रदुषण हुन दिँदैनौ। यो खेतीमा हामीले मध्यम उत्पादनको अनुपात देख्न सक्छौं। हामीले यो खेती गर्दा माटोको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ। माटोको उत्पादन शक्ति दिगोरुपमा बचाएर राख्नु पर्ने हुन्छ। यो खेतीमा सिंचाइको आवश्यकता सकेसम्म कम गरिने गर्दछ।
अहिले विश्व कोभिड-१९ को माहामारीसँग लडिरहेका छ। नेपाल पनि यो माहामारीबाट मुक्त हुन सकेको छैन। हामी अहिले घरमा नै बसेर सुरक्षितरुपमा काम गरिरहेका छौँ। विदेशबाट अहिले थुप्रै नेपाली स्वदेश फर्किने क्रम जारी छ। नेपालको कृषि आवश्यकता निकै नाजुक छ। नेपालमा निर्यातभन्दा आयात कैयौं गुनाले बढी छ। यो समयमा हामी दिगो कृषिमा संलग्न हुन धेरै आवश्यक छ। यसको लागि प्राङ्गारिक खेती सर्बोत्तम विकल्प बन्न सक्छ।
यो समय व्यावसायिक खेतीको थालनी गर्ने पनि उत्तम समय हाे। हाम्रो घर वरिपरिको प्रयोगमा नआएको जमिनमा मौसमी तरकारी र फलफूलहरु लगाउने जस्ता स्थानीयरुपमा पाउने स्रोतसाधन प्रयोग गरेर हामीले खेती गर्न सक्यौं भने हामी कृषिको क्षेत्रमा ठूलो फड्को मार्न सक्छौं। उदाहरणको लागि हामीले कुहिने कुराहरूबाट कम्पोस्ट मल बनाएर खेती गर्न सक्छौं। गाईवस्तुको गोबर र मूत्रलाई पनि मलको रुपमा मज्जाले प्रयोग गर्न सकिन्छ भने स्थानीय जैविक जीवहरु प्रयोग गरि बालीमा लाग्ने राेगकिरा नियन्त्रण गर्न पनि सकिन्छ।
हामीले कभर बाली पनि प्रयोगमा ल्याउन सक्छाैं। एकीकृत शत्रुजीव व्यवस्थापनको पनि भरपुर प्रयोग गर्न सकिन्छ। हामी सबैले आफ्नो तर्फबाट गर्ने यस्तै सानोसानो प्रयास नै माहामारीको यो समयमा देशको कृषिको मुहार परिवर्तन गर्नको लाि एउटा गहकिलो कदम बनिसकेको हुन्छ।
(लेखक कृषि तथा पशु विज्ञान अध्यन संस्थान, रामपुर, चितवनमा अध्ययनरत छन्)
























