कार्तिक १३ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ। कोलकाताले आफ्नो १३ औं खेलमा चेन्नईसँग दुबईमा खेल्नेछ। कोलकाता र चेन्नईबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाता सातौं जितको खोजीमा हुनेछ। कोलकाता १२ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ। इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता चेन्नईलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ। चेन्नईलाई पराजित गर्न सके कोलकाता लिगको शीर्ष चार भित्र उक्लने छ। तर, चेन्नईविरुद्ध जित निकाल्न कोलकातालाई सहज हुने छैन। महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई कोलकातालाई हराएर पाँचौ जित निकाल्न चाहन्छ।
तर, चेन्नईलाई यस खेल खासै महत्वपूर्ण रहेको छैन। किनकी चेन्नई प्रतियोगिताको प्ले अफ होडबाट बाहिरिसकेको छ। कोलकातासँगको खेल चेन्नईका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ। चेन्नई १२ खेलमा ८ अंक जोडेर पुछारमा रहेको छ।
यस्तै चेन्नई कोलकाताविरुद्ध जित निकाल्दै अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा कोलकाताले चेन्नईलाई १० रनले हराएको थियो। एजेन्सी


























