कार्तिक १२ । युएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सविरूद्ध शानदार जित हात पारेको छ। दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ र अजिन्का रहानेले २६ रन बनाए।
यस्तै टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए। कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए। दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए। यस्तै सन्दीप शर्मा र टी नटराजनले २र२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो। दिल्लीको विशाल लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले। ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए।
पहिलो विकेटको रुपमा आउट भएका वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए। रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए। यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए। जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै छैठौँ स्थानमा उक्लिएको छ। हैदराबादसँग पराजित भएपछि दिल्ली १२ खेलमा ७ जितसहित १४ अंकका साथ तेस्रो स्थानमा छ। एजेन्सी


























