कार्तिक ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सानदार जित निकालेको छ। शुक्रबार राति भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो। एस्टनको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बामफोर्ड चम्किए। खेलको ५५ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
६७ औं मिनेटमा बामफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा लिड्सको अग्रता २-० को बन्यो। त्यसपछि खेलको ७४ औं मिनेटमा बामफोर्डले ह्याट्रिक पुरा गर्दै लिड्सलाई ३-० को सानदार जित दिलाए।
बामफोर्डको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक हो। यससँगै उनले प्रिमियर लिगमा आफ्नो गोल संख्या ६ पुर्राएका छन्। जितसँगै लिड्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। तेस्रो जित निकालेको लिड्सले ६ खेलमा १० अंक जोडेको छ। लिड्ससँगको हारसँगै एस्टनको भने अपराजित यात्रामा पूर्णविराम लागेको छ। अघिल्ला खेलमा अपराजित एस्टनले ५ खेलमा १२ अंक जोडेको छ। एस्टन लिगको दोस्रो स्थानमा यथावत रहेको छ। एजेन्सी

























