मुम्बई, कार्तिक ६ । बलिउड नायक संजय दत्तले क्यान्सरको लडाइमा आफूले जित हासिल गरेको उल्लेख गरेका छन्। सामाजिक संजालमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै संजयले लेखेका छन्–‘पछिल्लो केही साता म र मेरो परिवारका लागि निकै नै मुश्किल समय थियो। तर भन्छन् नि, इश्वर तपाइको बलियो सिपाही हुन् र समस्यालाई हराउन सफल हुन्छन्। आज मेरो बच्चाको जन्मदिनमा मैले यो लडाइलाई जितेको छु। म मेरो बच्चाहरुलाई सबैभन्दा प्रिय उपहार दिन सक्षम भएको छु।’
संजय अगाडि लेख्छन्–‘यो तपाइहरुको अटुट विश्वास र समर्थनविना संभव थिएन। म आफ्नो परिवार, साथीभाई, फ्यानसँग आभारी छु।’ भारतीय मिडियाका अनुसार, संजयलाई फोक्सोको क्यान्सर भएको थियो। उपचारका लागि उनी अमेरिका जाने तयारीमा पनि थिए। तर, भारतको कोकिलाबेन अस्पतालमा नै उपचार गराएर उनी ठिक भएका हुन्। सोमबार उनी क्यान्सरमुक्त भएको रिपोर्ट आएको हो। एजेन्सी


























