चितवन, कार्तिक ६ । प्राध्यापक डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ। हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो। प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको हो। प्रा.डा. पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो।
जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निवन्धको शैलीमा लेखिएका छन्। पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो। लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन्। अन्य लेखहरु भने समसामयिक स्वास्थ्यसम्बन्धी रहेको उनले जानकारी दिए।
अर्थोपेडिक चिकित्सकले नेपाली भाषामा अर्थोपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो पुस्तक भएको बताउँदै उनले भने, “समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत फाइदा होस् भनी लेखिएका छन्। बचपनदेखि बुढ्यौलीसम्म र महिलाका पृथक समस्या यसमा केलाइएका छन्।” सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसङ्गहरू कुनै किताबको सारांशजस्तो नभई लेखकको २० वर्षको कार्यअनुभवको आधारमा पनि व्याख्या गरिएकाले जो कसैले सजिलै बुझ्न सक्ने उनको भनाइ छ।
कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफैँ समाधान गर्न सकिने प्रा.डा.पौडेलको भनाइ छ। लेखनकार्यमा रुचि राख्ने उनले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का बारेमा पनि पुस्तकमा समेटेका छन्।
लेखकको यो पुस्तक खुशीहरुको वनवासपछिको दोस्रो हो। लेखक आफैँमा भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुन्। उनी अर्थोपेडिक विषयको प्राध्यापकसमेत रहेका छन्। पौडेलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गरेकाछन्। उनलाई नेपाल अर्थोपेडिक सङ्घको रजत वर्ष विसं २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेशनल अवार्डसमेत प्रदान गरिएको थियो। रासस


























