धनगढी, कात्तिक ६ । कैलालीको सुखडस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। मोटरसाइकललाई ठक्कर दिने बस व्यवसाय समितिका प्रतिनिधिहरू सम्पर्कमा नआएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।
‘मृतकका आफन्तले बिहान ९ बजेदेखि सडक अवरुद्ध गरेका छन्,’ प्रहरी नायव उपरीक्षक बोहराले भने’ ‘अहिले बस समितिलाई बोलाइरहेका छौं।’ सडक बन्द हुँदा छोटो तथा लामो दूरीमा निस्केका यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
बुधवार बसको ठक्करबाट मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–९ की भागरथी रेग्मीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा ज्यान गएको थियो। बर्दगोरिया गाउँपालिका–४ मा पूर्वतर्फ जाँदै गरेको सुप प्र ०१००१ ख ३००९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको से१प ९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामबहादुर चौधरीको भने अस्पतालमा उपचार भइरहेको छ।


























